एउटै दृष्टि, भिन्न कोण

प्राधिकरणमा कुलमान घिसिङको कार्यकाल सकियो

२०७७ भाद्र २८ गते आइतवार

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबारबाट सकिएको छ। सरकारले घिसिङलाई अर्को कार्यकालका लागि नियुक्ति गर्ने चर्चा चलेपनि यसबारे कुनै निर्णय भएको छैन।

ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरेले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिका विषयमा छलफल भइरहेको तर कुनै निर्णय नभएको बताए। उनले भने, “लामो समय कार्यकारी प्रमुखको पद रिक्त राख्न मिल्दैन, छिटै नियुक्तिको प्रकृया अघि बढाउँछौं।”

ऊर्जा मन्त्रालयले उनको पुनर्नियुक्तिका लागि प्रस्ताव लैजाने विषयमा कुनै निर्णय गरेको छैन। मन्त्रीपरिषद्को वैठक सोमबार बस्ने तयारी छ। तर, सोमबार बस्ने मन्त्रिपरिषदको बैठकमा समेत घिसिङको पुनर्नियुक्तिका बारेमा प्रस्ताव लैजाने वा नलैजाने विषयमा टुंगो छैन।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिस्पर्धामार्फत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिको पक्षमा रहेको स्रोत बताउँछ। यद्यपि, नेकपाका अध्यक्ष पुष्पकमल दाहालले भने घिसिङलाई नै निरन्तरता दिनुपर्ने पक्षमा अडान राखिरहेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच आइतबार साँझ भएको भेटवार्तामा  घिसिङको पुनर्नियुक्तिका विषयमा छलफल भएको हुनसक्ने आकलन गरिएको छ।

प्रतिक्रिया दिनुहोस