रोल्पाको होलेरी बजारमा बन्दाबन्दी (लकडाउन) गरिएको छ।
यहाँका ८ जना मानिसहरुमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना भाइरसको थप संक्रमण फैलिन नदिन यसो गरिएको रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले बताएका छन्। होलेरीमा आइतबारदेखि लागू हुनेगरी जारी गरिएको लकडाउनको पुर्ण पालना गर्न अध्यक्ष बुढामगरले आग्रह गरेका छन्।
शनिबार बैंकका १ जना कर्मचारी, प्रहरी जवान, १ स्थानीय व्यापारी र अन्य ५ जनामा पीसीआर रिपोर्ट पोजेटिभ आएकाहरुलाई अहिले क्वारेन्टिनमा राखिएको छ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले अर्को सूचना नआएसम्म रुन्टीगढी गाउँपालिका ४ नं. वडा कार्यालय रहेको होलेरी बजारमा बन्दाबन्दी गरिएको जानकारी दिएको छ। होलेरीमा आइतबारदेखि लागू हुनेगरी लकडाउन गर्ने निर्णय भएको छ।
होलेरीमा अत्यावश्यक सेवा बाहेक सबै बन्द छन्। बजारमा सवारी साधन आवागमनमा रोक लगाइएको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएकाहरु आइसोलेसन केन्द्रमा रहेको बताइएको छ।