एउटै दृष्टि, भिन्न कोण

स्वर्गको एक टुक्रा अर्थात् भारतद्धारा अतिक्रमित नेपाली गाउँ कुटी

२०७७ भाद्र २९ गते सोमवार

नेपाल र भारतबीच पछिल्लो समय चुलिएको सीमा विवादका कारण अहिले सुदूरपश्चिमको लिपुलेक, कालापानी र लिम्पियाधुरासँगै रहेको तीन गाउँ निकै चर्चामा छ।

केही इतिहासकारहरू भारतीय पक्षले कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरेपछि २०३५ सालदेखि यी तीन गाउँ भारतको अधिनमा रहेको दावी गर्छन। यी गाउँ हुन्, कुटी, नाबी र गुञ्जी।  उच्च हिमाली क्षेत्रमा रहेको कुटी गाउँ लिम्पियाधुराबाट नजिक पर्दछ। यो गाउँ समुन्द्री सतहबाट ११ हजार ५ सय फिटको उचाईमा बसेको छ।

भारतले हालसम्म यसलाई भारत–चीन सीमाको अन्तिम गाउँका रुपमा चित्रण गर्दै आइरहेको छ। भारतबाट अतिक्रमित नेपाली गाउँ कुटी पर्यटन र ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ।

यो गाउँ महाभारतकालीन द्वापर युगसँग पनि जोडिएको छ।

महाभारतको भयानक युद्वपछि कूलहत्याको प्रायश्चित गर्न पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नकुल र सहदेव केही समय कुटीको गाउँमा आएर बसेको जनश्रृति रहेको हिन्दुवादी अभियन्ता मास्टर थापा बताउँछन्। महाभारतको युद्ध सम्पन्न भएपछि पाण्डवहरूलाई कूलहत्याको पापबाट जोगिन महादेव भगवानको शरणमा जान कृष्ण भगवानले उपाय दिएको र कैलाश पर्वतमा बसोबास गर्ने महादेवलाई भेट्न पाण्डवहरू कैलाश मानसरोवर जाँदा यो गाउँमा आएर बसेको भनाई थापाको छ।

कैलाश मानसरोवर जाने क्रममा पाण्डवहरू कुटी पुग्दा यो उपत्यकाको सौन्दर्यता र आध्यात्मिक चेत देखेर आमा कुन्ती निकै प्रभावित भएको र यसै कारण यहाँ पाण्डवहरू लामो समय बसेको भनाई पनि छ। कुन्तीकै नाम अपभ्रंस हुँदै कुटी भएको पुरानो बुढापाकाको भनाई रहेको थापा दावी गर्छन्।

हिन्दुहरूको पवित्र तीर्थस्थल मानिने कैलाश मानसरोवर यात्राको अन्तिम गाउँ पनि हो, कुटी। धेरै मानिसहरू अहिले पनि कैलाश मानसरोवरको यात्रा गर्दा कुटीको बाटो समात्ने गर्छन। कुटीलाई आदि कैलाशको रूप पनि मानिन्छ। त्यसैले कैलाश मानसरोवरसम्म पुग्न नसक्ने धर्मालम्बीहरू कुटीसम्म पुगेर फर्किने गर्छन्।

‘शास्त्रमा कुटी गाउँको पनि निकै ठूलो महत्व छ। यसलाई आदि कैलाश मानिन्छ। कैलाश मानसरोवरसम्म पुग्न नसक्ने धर्मालम्बीलाई कुटीसम्म पुग्दा पनि उत्तिकै धर्म लाग्ने जनश्रृति छ,’ हिन्दु अभियन्ता थापा बताउँछन्।

कुटी गाउँका स्थानीय धामी रामसिंह कुटियालले भारतीय मिडियासँग गरेको दावी अनुसार पाण्डवकी आमा कुन्तीसँगै बस्नका लागि निर्माण गरिएको ढुंगेचौतारी अहिले पनि यहाँ जस्ताको त्यस्तै छ। ‘पाण्डवकी आमा कुन्तीको नामबाट कुटी भएको हो। कुटी गाउँ नजिकै पाण्डव पहाड पनि छ। उक्त पहाडमा पाँचवटा चुचुरा छन्, जुन पाँच पाण्डवको प्रतिक मानिन्छ,’ धामीले अन्तर्वार्तामा भनेका छन्।

२००८ सालमा मातृका प्रसाद कोइराला प्रधानमन्त्री हुँदा नेपाली सेनालाई प्रशिक्षण दिने बहानामा भारतीय सेना नेपालको उत्तरी सीमामा गएर बसेको थियो। त्यतिबेला नेपालको सेना मजबुत नभएको कारण उत्तरी छिमेकी चीनबाट हुनसक्ने सम्भावित खतराका कारण नेपाल सरकारले पनि भारतीय सेनाको यो हर्कतप्रति खासै चासो राखेन।

२०१९ सालमा नेपाल र चीनबीच सीमा विवाद समाधान भएपछि नेपाल सरकारले भारतलाई आफ्नो सेना हटाउन आग्रह गरेको थियो। जसअन्तर्गत भारतले नेपालको उत्तरी सीमामा रहेको १७ वटा भारतीय चेक पोस्ट हटायो। तर, आफ्नो राजधानी नयाँ दिल्लीसँग नजिकै रहेको लिपुलेक नाकाबाट भने सुरक्षाको कारण देखाउँदै हट्न मानेन।

भौगोलिक विकट्ताका कारण नेपाल सरकारले दार्चुला हुँदै लिपुलेक, कालापानी र लिम्पियाधुरा पुग्ने बाटो बनाउन सकेन। जसका कारण त्यहाँको भूगोलसँग नेपाल टाढिँदै गयो। कुटी, नाबी र गुञ्जीका जनता पहिले नेपालमा तिरो तिर्ने गर्थे। यहाँका बासिन्दाहरू नेपालतर्फ बाटो नहुँदा भारतको बाटो प्रयोग गर्दै दार्चुला आउँथे। यो क्रम बढ्दै गएपछि भारतले २०३५ सालपछि बिस्तारै यहाँका बासिन्दालाई आफ्नो देशमा रोजगार दिन थाल्यो।

अहिले तीनवटै गाउँ भारतको कब्जामा छ। यहाँ बसोबास गर्ने केही नेपालीहरू भारतको सेना, पुलिसको उच्च ओहोदामा पुगेका छन्। भारत सरकारले उनीहरूलाई आफ्नो नागरिकता दिँदै तीनवटै गाउँलाई आफ्नो भनेर दावी गरिरहेको छ।

कुटी, नाबी र गुञ्जी प्राकृतिक र धार्मिक तवरले मात्र होइन, रणनीतिक हिसाबले पनि महत्वपूर्ण गाउँ हो। यो ठाउँ नेपालको चीनसँग जोडिएको सीमा हो भने हालै भारत–चीनबीच विवाद भएको लद्दाखको गलवान उपत्यकाबाट नजिक रहेको ठाउँ पनि हो। यही गाउँको सीमामा चीनले हाईवेदेखि ट्रेन ल्याउँने कामलाई पनि तिब्रता दिएको छ।

नेपाल–भारत सीमा विवाद सतहमा आएपछि भारतले एकपक्षीय रूपमा यी गाउँमा मनोमानी ढंगले विकासे कामहरु गरिरहेको छ। यी तीन गाउँमा ३ हजार बढी जनसंख्या रहेको अनुमान गरिन्छ।

प्रतिक्रिया दिनुहोस