एउटै दृष्टि, भिन्न कोण

विक्रमवीरको सम्झना: कमलमणिसँग पहिलो र अन्तिम भेट

काठमाडौ २०७७ भाद्र ३० गते मङ्गलवार

सन् १९५६ ताका जनकवि केशरी धर्मराज थापा सिलोङ आए। उनको आगमनसँगै सिलोङ र काठमाडौंबीच पहिलो साहित्यिक मित्रता गाँसियो।

खासमा भारतको मेघालय राज्यको सिलोङमा पहिलेदेखि नै नेपालको राजधानी काठमाडौंबाट ‘नेपाली’ नामक पत्रिका आउने गर्थ्याे। तर, नेपालमा बसाेबास गर्ने साहित्यकारसँग यहाँका साहित्यकारकाे साहित्यिक ससंर्ग हुन पाएको थिएन।

साहित्यकार कमलमणि दीक्षितको सम्पादनमा प्रकासित हुने ‘नेपाल’ पत्रिकामार्फत सिलोङका नेपालीभाषी कला, साहित्य र भाषाका नयाँ–नयाँ खुराक पाउँथे।

यस्तै सिलसिलामा ३० डिसेम्बर १९६२ मा भारत–नेपाल मैत्री साहित्य सम्मेलन भारतको राजधानी दिल्लीमा सम्पन्न भयो। सम्मेलनमा भाग लिन नेपालबाट नाट्य शिरोमणि बालकृष्ण सम र राष्ट्रकवि माधवप्रसाद घिमिरे आएका थिए। उनीहरुकाे दिल्लीमा उत्तर–पश्चिम भारतमा बसोबास गर्ने नेपालीभाषी साहित्यकारसँग जम्काभेट भयो।

सम्मेलनमा आसामबाट हरिभक्त कटुवाल, भारती क्षेत्री, छत्रबहादुर क्षेत्री र कुमार शाही समावेश भएका थिए। यस्तै, सिलोङबाट कृष्णप्रसाद ज्ञवाली, गोपीनारायण प्रधान र मणिसिंह थापाको सहभागिता थियो। दार्जिलिङबाट भने सावित्री देवी एक्लै उपस्थित भएकी थिइन। याे सम्मेलनले नेपाल र उत्तर भारतमा बसाेबास गर्ने नेपाली साहित्यकारबीच सम्बन्ध स्थापित गराउन महत्वपूर्ण योगदान गर्‍याे।

पछिल्लो समय नेपाली साहित्यमा स्थापित अर्को नाम हो, सिलोङका ६९ वर्षीय विक्रमवीर थापा। जो भारतीय सेनाबाट सेवानिवृत्त भएपछि थप उर्जाका साथ नेपाली साहित्यको उत्थानमा लागेका छन्। 

युवा अवस्थामा उनको गहिरो दोस्ती थियो, अर्का साहित्यकार मणिसिंह थापासँग। उनी प्रायः मणिसिंहको घर पुगिरहन्थे, जहाँ ‘नेपाल’ पत्रिका आउने गर्दथ्याे। यही उनले कमलमणिको नाम पहिलो पल्ट सुने र पढेँ पनि।

‘नेपाल’ पत्रिकासँगको बढ्दो हिमचिमले उनलाई नजानिँदो किसिमले कमलमणिसँग भेट्ने भोक जगायो।

काठमाडौंबाट प्रकासित हुने ‘रुपरेखा’ पत्रिकाको लागि लेख तयार पार्ने उद्देश्यका साथ सन् १९७३ मा हरिभक्त कटुवाल सिलोङ आइपुगे।

हरिभक्त त्यति बेला आसाम छोडेर काठमाडौंमा बसोबास गर्थे। उनी ‘रुपरेखा’ का लागि भाषा सम्पादन पनि गर्थे। यही विक्रमबीरको भेट नेपाली साहित्यका अर्का बेजोड प्रतिभासँग भयो।

उनी पहिलो भेटमै हरिभक्तसँग यति मन्त्रमुग्ध भए, कालान्तरसम्म उनीहरूको सम्बन्ध दिगो र आत्मीय बन्यो।

वास्तवमा हरिभक्तको सम्पर्कमा आएपछि विक्रमबीरको साहित्यिक चेत अझ् बढी चुलियो। अहिले पनि विक्रमबीरलाई चिन्नेहरू उनलाई साहित्यभन्दा चित्रकलामा अब्बल ठान्दछन्।

तर, उनको जीवनबाट साहित्यलाई निकाल्ने हो भने उनी अतृप्त र अपुरो देखिन्छन्। 

हरिभक्तलाई भेट्नुअघि नै १९७२ मा बम र बारुदमा हराएको आफ्नो फौजी जीवनलाई लिएर विक्रमबीरले ‘बिगतको परिवेशभित्र’ उपन्यास लेखिसकेका थिए।
समीक्षाका लागि उनले थुप्रै साहित्यकारलाई उपन्यास पठाए। तर, फौजी जीवन अंगालेका विक्रमबीरको उपन्यासप्रति कसैले टिप्पणी जनाएनन्।

सन् १९९४ मा विक्रमबीरले दिल्लीमा साहित्यिक अकादमी अवार्ड जित्दा अर्का चर्चित साहित्यकार इन्द्रबहादुर राईले ‘विगतको परिवेशभित्र’ उपन्यास आफूले धैरै अगाडि पढेको र मन पराएको प्रतिक्रिया दिएका थिए।

सन् १९८६ मा विक्रमबीरले प्रवासी नेपालीको संकटग्रस्त अस्तित्वलाई लिएर अर्को पुस्तक लेखे। जसको नाम थियो, ‘टिस्टादेखि सतलजसम्म’। यति बेला पनि उनले नाम चलेका सबै साहित्यकारलाई टिप्पणीका लागि पुस्तक पठाए। फेरि कतैबाट उत्तर आएन।

पहिलो पल्ट १२ फेब्रुअरी १९८७ मा काठमाडौंबाट एउटा पत्र आयो। जुन पत्र थियाे, नेपालका ख्यातीप्राप्त साहित्यकार कमलमणि दीक्षितकाे। जसमा लेखिएको थियो–‘तपाईको रोगको र भारत सरकारले गरेको उपेक्षा भावको विवरण पढ्दा धेरै दुःख लाग्यो। ‘जो होचो उसका मुखमा घोचो’ भन्ने त हामीलाई थाहा नै छ। गोरखालीहरूलाई भारतमा धेरै माया र स्नेह गरिदैन यो पनि बुझिएकै छ, के गर्ने!’

कमलमणिको चिट्ठीपछि काठमाडौं र सिलोङबीच नियमित सन्देशको आदान–प्रदानकाे युग सुरु भयो।

‘मैले लेखेको पुस्तक पढेपछि उहाँ (कमलमणि दीक्षित) ले १७ वटा चिठी लेख्नुभयो। उहाँको चिठीमा नेपाली साहित्यप्रतिको माया र लगाव प्रस्ट झल्किन्छ,’ हालै सिलोङमा भेटिएका विक्रमबीरले बिएल नेपाली सेवालाई भने।

७ अक्टोबर १९९४ मा पनि कमलमणिले विक्रमबीरलाई चिट्ठी पठाएका थिए। जुन चिट्ठी साहित्यकार हरिभक्त कटुवालको डायरीमाथि केन्द्रित थियो।

काठमाडौंमा रहस्यमय ढंगले हराएको साहित्यकार हरिभक्त कटुवालको डायरीमाथि लेखिएको पुस्तक ‘हत्याः रातो डायरीको’ पढेपछि कमलमणिले चिट्ठी लेखे– ‘हत्याः रातो डायरीको’ पढिसिध्याएँ। एकै साँझमा, एकै आसनमा बसेर पढिसिध्याएँ। यति सरल पाराले लेखिएको रहेछ! रसिलो उपन्यास पढे जस्तो लाग्छ। तपाईंलाई (विक्रमबीर) साधुबाद!’

विक्रमबीर १९९७ मा अर्को पुस्तक ‘बीसौं शताब्दीको मोनालिसा’ प्रकाशनका लागि भारतको बनारसमा थिए। त्यो समय बिहारमा चोरहरूको बिगबिगी थियो। त्यसैले उनले नेपालको बाटो हुँदै सिलोङ फर्किने मन बनाए। 

उनले नेपाल प्रवेश गर्ने योजना बनाउनुको कारण पनि थियो। उनी काठमाडौंमा कमलमणि दीक्षितलाई भेट्न चाहन्थे।

विक्रमबीर सुनौली नाका हुँदै नेपाल प्रवेश गरे। उनको यो पहिलो नेपाल प्रवेश थियो। पहिलो पल्ट भैरहवामा पाइला टेक्दा उनले भूइँबाट हातमा माटो लिँदै शिरमा पुछेका थिए। उनको त्यो हर्कत देखेर स्थानीय सबै चकित परेँ।

‘म पहिलो पल्ट पूर्खाको भूमि टेक्दै थिए। त्यसैले अन्यास मेरो हात नेपाली माटोमा पुग्यो। म पूर्खाको माटोप्रति सम्मान दर्शाउन चाहन्थेँ,’ हाल सिलोङमा साहित्यकर्ममा डुबेका विक्रमबीर भन्छन्।

भैरहवामा विक्रमबीरका आफन्त थिए। केहि दिन उत्तै बसे। यसपछि उनकाे काठमाडौंतर्फको नौलो यात्रा सुरु भयो। त्रिशुली नदीको किनारै–किनार, तिब्र गतिमा गुडिरहेको बससँगै विक्रमबीरको मुटुको गतिपनि अनियन्त्रित भयो। नयाँ ठाउँ, नयाँ परिवेश र पूर्खाको भूमि। वास्तवमै राेमाञ्चक थियाे उनकाे पहिलाे काठमाडाैं यात्रा!

मार्चको अन्तिम साता विक्रमबीर काठमाडौं प्रवेश गर्दा झमक्क् साँझ परिसकेको थियो। चिसो पनि उत्तिकै। चारैतिर हिमाल हाँसिरहेको भान हुन्थ्यो।

‘त्यति बेला काठमाडौंको मौसम चिसो भएपनि मेरो मन तातिएको थियो। १० दिन मैले काठमाडौंमा बिताए। पहिलो रात जाउलाखेल नजिकै होस्टेल (निजी स्कुल) मा बिताए,’ उनले सम्झिए।

काठमाडौं बसाईंका क्रममा उनले पशुपतिनाथकाे दर्शनदेखि आसामबाट पढ्न आएका विद्यार्थीसम्मलाई कीर्तिपुरस्थित त्रिभुवन विश्वविधालयको छात्राबासमै गएर भेटे।

एकदिन छात्राबासमै उनलाई चित्रकलाको जादु देखाउने मौका जुर्यो। त्रिवी विधार्थीले मासिक ‘विचार पत्रिका’ प्रकाशित गर्ने रहेछन्। उनीहरूलाई आवरणका लागि चित्र कोर्न हम्मे–हम्मे परिरहेको रहेछ। संयोग कस्तो जुर्यो भने विक्रमबीरले यही पत्रिकाका लागि चित्र कोरे।

घुमघामकै सिलसिलामा उनले गाउँले साथी प्रेम पुनलाई काठमाडाैंमा भेटे। प्रेम आफ्नी दिदीलाई भेट्न आएका रहेछन्। एकदिन प्रेमले जावलाखेलमा बसोबास गर्ने आफ्नै दिदी कहाँ भेट्न लग्याे।  

त्यति बेला दिदीसँग भएको संवाद अहिले पनि विक्रमबीरले बिर्सिएका छैनन्।

सुनाए– ‘दिदीले साेध्नु भयाे–काठमाडौं कस्तो लाग्यो?’ 

विक्रमबीरकाे उत्तर थियाे– हिमालले धोती बेरे जस्तै।

१० दिने काठमाडौं बसाईंकै क्रममा उनले पाटनस्थित मदन पुरस्कार गुठी पुगेर आफ्नो पुरानो तथा नियमित पत्रमित्र मदनमणिलाई भेटे। अहिले पनि उनी मदनमणिसँग भेटेको प्रसंग रोचक ढंगले बयान गर्छन।

‘मलाई लिन उहाँ गेटसम्मै आउनु भयो। म त अक्कनबक्क। उहाँको सरल र नम्र बोलीले मलाई झन् बढी प्रभावित तुल्यायो,’ विक्रमबीर भन्छन्, ‘चियाको चुस्कीसँगै सुरु भएको हाम्रो साहित्यिक वार्ता करिब ४४ मिनेट चल्यो।’

कमलमणिले विक्रमवीरको पुस्तक मिहिनढंगले पढेका थिए। उनी विक्रमबीरको लेखकीय शैलीबाट कायल थिए। तारिफ गरेर थाक्दैन्थे।

‘बीसौं शताब्दीको मोनालिसा’ पुस्तकबाट विक्रमबीरले दिल्लीमा साहित्य अकादमीको पुरस्कार जिते। यो पुरस्कार जितेपछि मात्र अन्य साहित्यकारले उनलाई पछ्याउन थाले।

उनी साहित्य अकादमी सम्मानबाट पुरस्कृत हुने, मेघालय राज्यका पहिलो साहित्यकार हुन्। उनीपछि गोपीनारायण प्रधानले त्यो सम्मान पाए।

कमलमणिले २७ अगस्ट २००७ मा लेखेका छन्, ‘तपाईको विजयनगर जाने टुंगो लागेपछि खबर गर्नुहोला। साथै पैसा पठाउन कुन बैंकमा, कुन नम्बरमा पठाउने हो, त्यो पनि लेखी पठाउनु भए मलाई सजिलो पर्ने थियो।’

यो पत्रबाट के पुष्टी हुन्छ भने साहित्यकार विक्रमबीरलाई कमलमणिले केही आर्थिक सहयोगसमेत गरेका थिए।

स्वयम् विक्रमबीर भन्छन्, ‘कमलमणिको आर्थिक सहयोगका कारण मलाई लेखनमा थप हौसला मिलेको हो।’

नियमित पत्राचार भएपनि कमलमणि सिलोङ आउँदा उनको भेट हुन सकेन। सन् २००६ मा आसाममा भएको साहित्यिक कार्यक्रममा कमलमणि पनि समावेश भएका थिए। तर, आयोजकले यसको जानकारी विक्रमबीरलाई दिने आवश्यकता नै ठानेनन्।

आफ्नै ठाउँमा कमलमणिलाई स्वागत गर्न नपाएकोमा उनी अहिले पनि दुःख मनाउ गर्छन्। विक्रमबीरको तीन पटकसम्म कमलमणिसँग फोन सम्पर्क पनि भयो। तर, ललिपुरमा भएको भेट नै पहिलो र अन्तिम थियो। कमलमणिकाे निधनपछि सिलाेङसँग काठमाडाैंकाे साहित्यिक संवाद टुँटेकाे छ। 

प्रतिक्रिया दिनुहोस