एउटै दृष्टि, भिन्न कोण

टिस्टादेखि सतलजसम्म अनि स्कटल्याण्ड अफ द इष्ट

काठमाडौ २०७७ भाद्र ३१ गते बुधवार

शिलाङलाई ‘स्कटल्याण्ड अफ द इष्ट’ भनिन्छ। आजका नव युवा-युवती गोर्खालाई शायदै यो विषयमा जानकारी होला।

शिलाङको प्राकृतिक वातावरण र स्कटल्याण्ड उस्तै उस्तै थियो। शिलाङलाई स्कटल्याण्डजस्तै सुन्दर र रमणीय बनाउन हाम्रा पल्टने गोर्खा पुर्खाहरूको ठूलो योगदान छ।

यिनीहरू सन् १८६७ मा ४४ (Former 1/8 Gorkha Rifles) गोर्खा पल्टनसँग अंग्रेज अफिसरको साथमा चेरापुञ्जीबाट शिलाङ आए। क्याप्टेन प्याट्रिक डजनले १९ फेब्रुअरी १८२४ मा आजको बंगलादेशको सिलहेटमा ‘१६ सिलहेट लोकल बटालियन’ नामकरण गरी यो पल्टन जन्माएका थिए।

यो पल्टन शिलाङ आउँदा शिलाङ शहरको रूपमा विकास भएको थिएन।  चारैतिर घनघोर जंगल थियो। हाम्रा पल्टने गोर्खे पुर्खाले अंग्रेज अफिसरको निर्देशनमा यो घनघोर जंगल काटेर शिलाङ शहरको रूप दिए। सुन्दर बनाए। त्यही पुर्खाको देनले जन्मिएको शिलाङलाई आज ‘स्कटल्याण्ड अफ द इष्ट’ भनिन्छ।

तर वर्तमान पुस्ताले विगतमा हाम्रा पुर्खाले शिलाङ शहर बनाउन दिएको अवदान बिर्स्यो। यसको साटो वर्तमानले उनीहरूकै नाति-पलातिहरूलाई आज ‘विदेशी’ भन्न जान्यो।

सन् १९८३ मा मैले उपन्यास टिस्टादेखि सतलजसम्म लेखेँ। यो उपन्यास लेखेको बेला सुवास घिसिङले भारतीय  नेपालीका लागि लास गाड्ने माटो चाहिन्छ भनेर सपना देखे पनि गोर्खाल्याण्डलाई लिएर आन्दोलन गर्छु साथै भारतीय ‘नेपाली’ लाई ‘गोर्खा’, बनाउँछु भनेर सोचेका थिएनन्।

सन् १९८६ मा मेघालयको जयन्तिया पहाडका कोइलाखानीमा काम गर्ने नेपाली मजदूरलाई मेघालय पुलिसले धपाउन थालेपछि बल्ल सुवास घिसिङले गोर्खाल्याण्डको विषयमा सोचे।

मैले उपन्यास ‘टिस्टादेखि सतलजसम्म’ लेख्दासम्म ‘नेपाली’ को हो? ‘गोर्खा’ को हो भन्ने प्रश्नको जन्म भएको थिएन।  आखिरमा ‘नेपाली’ र ‘गोर्खा’ एउटै सिक्काका दुई वटा पाटा थिए, यसैकारण उपन्यासमा नेपाली र गोर्खाले एउटै रगतको रूपमा ठाउँ पाए।

यही उपन्यासभित्र घनघोर जंगल कसरी शिलाङ शहरमा परिवर्तन भयो भन्ने कथा लिपिबद्ध गरिँदा ‘स्कटल्याण्ड अफ द इष्ट’ को विषय पनि हालेको छु।

मैले यो उपन्यास लेखिरहँदा खुकुरी देखेर भुतुक्कै हुने, छत्रे टोपी देखेपछि मरिमेट्ने अनि ‘जय गोर्खा’ भन्ने। तर कलम, पुस्तकलाई नचिन्ने आजका गोर्खे युवाको जन्म भएकै थिएन। भए पनि धुलोमाटोसँग खेल्ने सिँगाने भेँडे थिए।

यीनै गोर्खेहरूजस्तै धेरै युवा ‘जय गोर्खे’हरू फेसबुकमा मसँग जोडिएका छन्। जसले पुस्तक पढ्दैनन्। पढ्नमा पछाडि छन् तर फेसबुकमा कमेन्ट गर्न भने सधैं अगाडि छन्। हो, उनीहरूकै जानकारीका लागि उपन्यास ‘टिस्टादेखि, सतलजसम्म’ का ती पृष्ठहरू यहाँ हालिदिएको छु, जहाँ ‘स्कटल्याण्ड अफ इष्ट’ को प्रसंग छ!

प्रतिक्रिया दिनुहोस