एउटै दृष्टि, भिन्न कोण

भारतीय संसदमा तेन्जिङ शेर्पालाई ‘भारत-रत्न’ प्रदान गर्न माग

दार्जीलिङ २०७७ भाद्र ३१ गते बुधवार

सगरमाथामा पहिलो पल्ट पाइला टेक्ने पर्वतारोही तेन्जिङ नोर्गे शेर्पालाई भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत–रत्न’ प्रदान गर्न भारतीय संसदमा माग उठेको छ। 

यो सम्मान प्रदान गर्न दार्जीलिङबाट सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) को सांसद निर्वाचित राजु बिष्टले माग गरेका हुन्। 

तेन्जिङलाई यसअघि भारत सरकारले ‘पद्म भूषण’ बाट सम्मानित गरेको थियो। उनको नाममा सहासिक पर्यटनको उच्च अवार्ड राखिएको छ। सन् १९९९ मा अमेरिकाबाट प्रकासित टाइम्स पत्रिकाले तेन्जिङलाई विश्वको सबैभन्दा प्रभावशाली व्यक्तिको समूहमा राखेको थियो। 

सन् २००० मा लाइफ पत्रिकाले उनलाई विश्वको सर्वोत्कृष्ट १० खेलाडीमा समावेश गरेको थियो। 

नासाले पनि प्लूटो ग्रहको एउटा पहाडलाई तेन्जिङको नामबाट ‘तेन्जिङ मोन्टेस’ राखेको छ। सांसद बिष्टले तेन्जिङको सफलता र ऐतिहासिक तथ्यलाई हेरेर आफूले ‘भारत–रत्न’ का लागि माग गरेको बिएल नेपाली सेवालाई जानकारी दिए। 

‘भारतमा प्रदान गरिने सर्वोच्च नागरिक सम्मान ‘भारत–रत्न’ का लागि तेन्जिङ नोर्गे शेर्पा सर्वाधिक योग्य व्यक्तित्व हुनुहुन्छ। तर, आजसम्म उहाँलाई यो सम्मान प्रदान गरिएको छैन,’ सांसद बिष्टले भने, ‘स्वर्गीय शेर्पा विश्वको सर्वोच्च हिमालमा मानव जातिको पहिलो पाइला टेक्ने व्यक्ति हो।’

२९ मे १९५३ मा विश्वको सर्वोच्च हिमाल सगरमाथाको सफल आरोहण गरेका तेन्जिङलाई भारतले धेरैपछि नागरिकता प्रदान गरेको थियो। 

उनलाई नेपाल सरकारले पहिले नै ‘नेपाल तारा’ बाट सम्मानित गरिसकेको छ। न्युजिल्याण्डका आरोही एडमण्ड हिलारीसँग मिलेर सगरमाथा आरोहण गर्नुअघि उनको राष्ट्रियता नेपाली थियो। तर, सगरमाथाको सफल आरोहण गरेपछि भारतीय मिडियाले तेन्जिङ भारतीय भएको विवाद उठाएका थिए। 

उनलाई तत्कालिन प्रधानमन्त्री जवहारलाल नेहरूले भारतीय नागरिकता प्रदान गर्न ठूलो भूमिका खेलेका थिए। नागरिकताको विवादकै कारण बेलायतमा महारानी एलिजाबेथको राज्याभिषेकको बेला उनी ‘जर्ज मेडल’ बाट मात्र सम्मानित भएका थिए। 

उनीसँगै सगरमाथा आरोहण गरेका हिलारी र आरोहण दलका नेता जोन हन्टलाई ‘केबीई’ अवार्डबाट सम्मानित गरिएको थियो। 

सांसद बिष्टले भने, ‘उहाँको अभूतपूर्व सफलताको विश्वले आजसम्म गुणगान गाउँछ। मैले असाधारण परिस्थितिका बाबजुद तेन्जिङले कसरी सगरमाथाको शिखरमा पुग्नु भयो र विश्वको पहिचान बन्नु भयो भन्ने सम्झाउन खोजें।’

उनी आफ्नो माग सम्बोधन हुने कुरामा ढुक्क थिए।

प्रतिक्रिया दिनुहोस