पहाड सिंह गुरूङ अनि मेरो उत्कट इच्छा….

मेघालय २०७७ असोज १० गते शनिवार

मैले अस्ति यहीँ शीर्षकमा लेख पोष्ट गरेको थिएँ। तपाईँहरूले पढ्नु पनि भयो होला। उक्त लेखमा कसरी गुवाहाटीको पल्टन बजारमा पहाड सिंह गुरूङले झील (बील)-लाई माटोले पुरेर ठाकुर बाडी (मन्दिर) बनाए।

मन्दिर निर्माण गर्दा तत्कालीन गुवाहाटीको ‘गोर्खा समाज’ ले पनि पहाड सिंह गुरूङलाई सघाएको थियो। मैले गुवाहाटीको तत्कालीन ‘नेपाली समाज’ नभनेर ‘गोर्खा समाज’ किन भने, यसबारे पनि लेख लेख्नेछु।

हिजो पनि एउटा लेख पोष्ट गरेको थिएँ। शीर्षक थियो-‘तैल चित्र पद्मप्रसाद ढुंगाना।’

यस लेखमा पूर्व सांसद एवम् गुवाहाटी हाईकोर्टका अधिवक्ता आर.पी.लामाबारे उल्लेख छ। गोर्खा स्कूल र अखिल भारतीय गोर्खा लिगका अध्यक्ष डम्बरसिंह गुरूङको  पनि उल्लेख छ।

‘नेपाली साहित्य कला निकेतन’, गुवाहाटीको पनि प्रसंग छ। यस निकेतनका अध्यक्ष चोकबहादुर थापा अनि मूल सचिव पूर्ण क्षेत्रीको नाम पनि आएको छ। पूर्व एमएलए एवम् स्वतन्त्र सेनानी विष्णुलाल उपाध्यायले ‘पद्मप्रसाद ढुंगाना’ पुरस्कार र विक्रमवीर थापाले ‘हरिभक्त कटुवाल स्मृति पुरस्कार’ पाएका कुरा पनि हालिएको छ।

यो पनि हालिएको छ- पूर्वाञ्चलमा कुनै पनि नेपाली साहित्य-सभा आदिबीच सबैभन्दा पहिला पुरस्कार दिने परम्परा राख्ने यहीँ कला निकेतन, गुवाहाटी हो।

आज यस ‘नेपाली साहित्य कला निकेतन’, गुवाहाटीका संस्थापक अध्यक्ष र मूल सचिव चोकबहादुर थापा अनि पूर्ण क्षेत्री हामीबीच छैनन्। म यहीँ लेखको माध्यमबाट ती दुवै आत्मालाई सम्झना गर्दै भावपूर्ण श्रद्धाञ्जलि दिन्छु।

अब मेरो उत्कट इच्छाको विषयमा,

सन् १९९४ मा गुवाहाटीमा जन्मेको ‘नेपाली साहित्य कला निकेतन’ ले यो लेखकद्वारा लिखित अनि हरिभक्त कटुवालको डायरीसम्बन्धित पुस्तक ‘हत्या रातो: डायरी’-का लागि पूर्वाञ्चलमा छापिएका पुस्तकहरूबीच यहीँ पुस्तकलाई सन् १९९४ को  सबैभन्दा उत्कृष्ट पुस्तक भनेर चयन गरिएकोमा ‘हरिभक्त कटुवाल स्मृति पुरस्कार’ प्रदान गर्ने भयो। चयनकर्ताहरूबीच निर्णायक चयन गर्नेचाहिँ हुनुहुन्थ्यो वरिष्ठ साहित्यकार नरबहादुर दाहालज्यू।

मलाई निम्तो दिएर पुरस्कार ग्रहण गर्न भनी उक्त निकेतनले मेरै कोठामा एकजना सदस्यलाई लिन पठाएको थियो। म पुरस्कार ग्रहण गर्न भनेर सदस्यसँग गुवाहाटी पुगेँ। पुगेपछि पुरस्कार ग्रहण पनि गरेँ।

त्यतिबेला म गुवाहाटी पुग्दा यो नेपाली मन्दिरको निर्माण भएकै थिएन। पहाड सिंह गुरूङले निर्माण गरेको ठाकुरवाडीलाई जीर्णोद्धार गरिएको मन्दिर थियो। मैले पहाडसिंह गुरूङको नाम  पहिल्यै सुनेको र उनीबारे एकाध वर्णन भएको पत्रिकामा पढेको थिएँ। तर दु़:ख चाहिँ मलाई के लागेको थियो भने, यस्तो सत्कर्म गर्ने महान् पुरूषको कुनै पनि शालिक वा फोटो उक्त मन्दिर प्रांगणमा थिएन।

मैले पुरस्कार ग्रहण गरेपछि यसै विषयमा चोकबहादुर थापासँग कुरा गर्दै भनेँ, ‘पहाडसिंह गुरूङको कतैबाट फोटो खोजिदिनुहोस्। म त्यो फोटोबाट पहाड सिंह गुरूङको ठूलो तैलचित्र बनाएर मन्दिर प्रबन्धक कमिटीलाई नि:शुल्क दिनेछु।’

उनले खोजेर दिने कोशिश गर्छु भने। तर उनले हजारौ प्रयास गर्दा पनि पहाड सिंह गुरूगको फोटो पाएनन्। जे भए पनि पहाड सिंह गुरूङले निर्माण गरेको अनि पछि जीर्णोद्धार गरिएको मन्दिरको फोटोलाई मद्वारा रेखाचित्रमा परिणत गराएर चोक बहादुर थापाले ‘नेपाली साहित्य कला निकेतन’, गुवाहाटीद्वारा प्रकाशित पत्रिका ‘निकेतन’ को मुख पृष्ठमा राखे।

यसबारे गुवाहाटीस्थित पल्टनबजार चौक अगाडि भव्यताको छवि देखाएर उभिएको नेपाली मन्दिरसँग संलग्नलाई सायदै थाहा होला। ‘जय गोर्खा’ भन्नेलाई पनि थाहा नहुन सक्छ।

‘निकेतन’ पत्रिका दुई अंकसम्म निस्कियो। यी दुवै अंकमा मेरा क्रमश: कविता र संस्मरण ‘बम्बईलाई आँखामा सजाउँदा’ सजिएका छन्।

मेरो लेखाइको शैलीगत विशिष्टताबारे मेरो यो संस्मरणमा कस्तो छ भनेर लेखिका मैना थापा ‘आशा’ लाई कुनै पनि महानुभावले सोध्न सक्छन्।

चोकबहादुर थापाको आग्रहमा मैले ‘नेसाक निकेतन’ को लोगो पनि बनाइदिएको छु।

कविवर पद्मप्रसाद ढुंगानाको तैलचित्र पनि चित्रांकित गरेँ। तर ‘जय गोर्खा’ भन्ने समाजमा संरक्षित गरिदिने नभएर मेरो थोत्रे कोठामा यो तैलचित्र धुलधूसरित भई लावारिस भएर बसेको छ।

जे भए पनि पहाडसिंह गुरूङको फोटो पाउने मेरो उत्कट इच्छा पूरा भएन।

प्रतिक्रिया दिनुहोस