एउटै दृष्टि, भिन्न कोण

यस वर्षकाे पद्मश्री उप्रेतीलाई, साधना सम्मान प्रश्रितलाई

काठमाडौ २०७७ असोज ११ गते आइतवार

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई अर्पण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी यस वर्षको पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई अर्पण गर्ने निर्णय गरिएको छ ।

दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिँदै आएकोमा यस पटक कोरोना संक्रमणको विषम परिस्थितिका कारण यसै वर्षभित्र अनुकूल समयमा अर्पण गरिने जनाइएको छ ।

‘हंस’ उपन्यासमा लेखकले मानिसद्वारा निर्मित देश, उसले बनाएको कानुन तथा संस्कारका कारण प्रकृतिसँगको प्रेम र सम्बन्ध कसरी जटिल बनेको छ भन्ने देखाएका कारण पुरस्कृत गरिएको निर्णायक समितिले जनाएको छ ।

उपन्यासमा मानिस आफैँले बनाएको जालमा कसरी फसिरहेको छ र त्यसको बोझले थिचिरहेको छ भन्ने कुरा प्रकृति तथा हाँसको कथासँग जोडेर स्वैरकाल्पनिक शैलीका माध्यमबाट प्रस्तुत गरिएको छ ।

यता  प्रश्रितले विगत छ दशकदेखि नेपाली काव्य, निबन्ध, नाटक, आख्यान, समालोचना तथा संस्कृति लेखनका माध्यमबाट समाज रुपान्तरण तथा राष्ट्रिय एकतामा महत्वपूर्ण योगदान पुर्याएका कारण उक्त सम्मान गरिएको बताइएको छ । 

उनी पूर्वीय दर्शन तथा मार्क्सवादी विचारलाई वैज्ञानिक र वस्तुवादी ढंगले विश्लेषण गरी विश्व मानवता र बन्धुत्व जगाउने लेखक हुन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशी रु. तीन लाख रुपैयाँ रहेको खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले प्रेस विज्ञप्तीमार्फत जनाएका छन् ।

वि.सं. २०६३ सालदेखि खेमलाल–हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई प्रत्येक वर्ष पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ । 

त्यस्तै वि.सं.२०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान अर्पण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस