एउटै दृष्टि, भिन्न कोण

बरू कारवाही भोग्छु तर दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप मान्दैन : सांसद चौधरी

काठमाडौं २०७७ असोज २० गते मङ्गलवार

नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङ देउखुरीको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। कांग्रेस बुटवलमै राजधानी यथावत् राख्ने पक्षमा छ।

मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङ देउखुरीको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।

प्रदेशसभामा कांग्रेसका १९ सांसद छन्। यीमध्ये केही सांसद दाङ नै राजधानी हुनुपर्नेमा छन्।

कांग्रेस सांसद डिल्लीबहादुर चौधरीले दाङका विपक्षमा मतदान गर्ने ह्विप स्वीकार नगर्ने बताए। दाङबाट निर्वाचित सांसद चौधरीले दाङ भालुवाङलाई राजधानी बनाउनुपर्ने बताए। ‘ह्विप मान्दैनौं। बरू म कारवाही भोग्न तयार छु,’ उनले भने । उनले कांग्रेसका ६ जना सांसद दाङ राजधानी हुनुपर्ने पक्षमा रहेको बताए।

दीपक गिरी, किशौरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, गोपाल दहित, मंगलप्रसाद थारू, योगेन्द्र चौधरी, कृष्णकिशोर घिमिरे, सञ्जय गौतम र अमरसिंह पुनले दाङमा प्रदेशको स्थायी राजधानी हुनुपर्ने बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस