प्रदेश-५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णयबाट असन्तुष्ट बुटवलका नेकपा कार्यकर्ताहरुले सामूहिक रुपमा राजिनामा पेश गर्दै नेकपा पार्टी परित्याग घोषणा गरेका छन्।नेकपाका विभिन्न भातृसंगठनका सदस्य र व्यापार-व्यवसायीका संघ संस्थामा रहेकाहरुले पत्रकार सम्मेलन गरी पार्टी परित्याग गरेको बताएका हुन्।
रुपन्देहीको बुटवलमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रुपन्देहीका विभिन्न संघसंस्थामा आवद्ध २ हजार २ सय ४९ नेकपा कार्यकर्ताले सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरेका छन्।
रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले पार्टीले रुपन्देहीका जनताको भावनाअनुसार निर्णय गर्न नसकेकाले उक्त पार्टीको सदस्य हुनुको औचित्य नरहेको बताए। उनले नेकपाले निरंकुश तरिकाले राजधानी सार्ने निर्देशन दिएको र रुपन्देहीबाट निर्वाचित सांसदलाई आफ्ना मत राख्न नदिएको समेत बताए।
पत्रकार सम्मेलनमा रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष मोतिलाल पाण्डे, रुपन्देही ब्यापार संघका अध्यक्ष याम लोहनी, होटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका अध्यक्ष समुन्द्र जीसी, पर्यटन व्यवसायी माधव नेपाल, उद्योग परिसंघका अध्यक्ष एजाज आलम, पश्चिम नेपाल यातायात व्यवसायी प्रालिका सञ्चालक नारायण घिमिरे लगायतका सहभागि भएका थिए ।