मैले आफैंले एक दिन लेखेथेँ, ‘विशाल’ को भावना कसरी आयो, म भन्न सक्तिनँ !

काठमाडौ २०७७ असोज ३० गते शुक्रवार

के नेपाल सानो छ? ~ महाकाली लक्ष्मीप्रसाद देवकोटा।

मैले आफैंले एक दिन लेखेथेँ, ‘विशाल’ को भावना कसरी आयो, म भन्न सक्तिनँ ।
भूमण्डका नक्शा पल्टाउनुहोस् र हेर्नुहोस् त नेपालको परिमाण कत्रो छ । यो सानो बूँद महासागरमा त्यसै बिलाए जस्तो देखिन्छ । यो सानो टुक्रा हिमालय पहाडको रेखामा सानो कोठा जस्तो लाग्दछ । कति देश र जातिले यसको नामै सुनेका होओइनन् । यो शान्तिको हरियो राजधानी जस्तो पृथ्वीको सानो प्यारो टुक्रालाई अघि बढेर देखाउनुभन्दा आफूलाई छिपाउनुमा ज्यादा रुचि देखाउँछ । त्यसलाई एकान्त मन पर्दछ । संसारको घच्चाघमासानमा । पसिना काढी हिस्सा लिनुभन्दा ध्यान र ज्ञानको गङ्गातिर र हिमगिरिशिला यसलाई ज्यादा मन पर्छ ।

आधुनिकतामा जिज्ञासा राखे तापनि यो प्राचीनको पूजारी हो । आजसम्म लुकामारी खेलेर, हिजोको सुनौला प्रभातको सपना देख्न चाहन्छ । सानो छ तर स्वर्ग छ, अल्प छ तर आँखो छ, खुट्टा छ तर आफैं विश्व छ; दूर छ तर दूरताको दिव्य जादू । यो भारतमाताको मुटु फेला पार्ने थोरै छन्, किनकि यो पर्वतस्तनको भित्र गहिराइमा छिपेको छ ।

हीरा सानो हुन्छ, मोती सानो हुन्छ; मणि सानो हुन्छ; मिष्टभाषी निर्मल शिशु सानो हुन्छ; आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्का झन् सबैभन्दा सानो हुन्छ । यो पृथ्वीको सानो शिरबिन्दु नै होस् तर ओंकारको बिन्दु झैं परमानन्द घनीभूत छ । सानो भनेको के, ठूलो भनेको के ? यो दुनियाँमा तारालाई ठूलो भनौं भने अनन्त आकाश जूनकरीरी जस्ता देखिन्छन् । बालुवाका दानालाई सानो भनौं भने एक कणमा सूक्ष्मदर्शी यन्त्रले र विज्ञानले विश्वको झिलिमिली जादूगरी दर्शाइरहेछन् । संसारमा सानो र ठूलोका दुई दृष्टिकोणका भेद छन्- एक भौतिक, एक आध्यात्मिक । नेपालभन्दा चीन ठूलो कसैले मलाई भन्यो भने त मलाई मान्छेभन्दा हात्ती ठूलो भनेको सुन्दा हाँस्न मन लागे जस्तो लाग्छ । माटोको परिमाणले खेत ठूलो म गन्दिनँ: त्यसको गुण, अवस्था, उब्जनी र भावुक प्रभावको कसीले मात्र । ब्रिटिश म्युजियमका लर्ड म्याकालेले निलेका सबै पुस्तकहरुको डुङ्गुरभन्दा कालिदासको शकुन्तला धेरै जस्तो ठूलो लाग्छ ।

‘धत्, नेपाली पनि पढ्नु ? हाम्रा ठिटा लेखक कनीकुथी बोक्रा लेख्छन्’ भनी नाकठाडे मिजासको अंग्रेजीवाज चश्मा झल्काएर भन्दछ । मलाई रुनाको अवकाश नभए पनि दयाको भावले त्यस्ताको देखासिकी उल्टो पाखण्डीप हेर्न मन लाग्छ । अंग्रेजी लवजहरुउपर सूर्य नअस्ताऊन् तापनि म नेपाली शब्दमा त्यो जादू पाउँछु, जो ग्रीष्म गरम विदेशबाट स्वागतवासी मधुर हावाको लहरसँग ‘को हो ! को हो !’ को सौन्दर्य-संसारमा नवजाग्रत् प्रश्नका साथसाथै नेपाली वनको फुट्दो सुगन्धमा मिसिएर आउँछ । शेक्सपियर, मिल्टन, गेटे इत्यादिका कल्पना र महाकाव्यहरुभन्दा मलाई नेपाल पहाडको सरल भाव-वाहिनी व्याकरणविरोधी हृदषनिनादिनी प्राकृतिक कविता धेरै आनन्द दिने हुनेछ ।
‘वाल्ज’ सुन्न चाहन्नँ, तर पहाडको सानो कुनामा झोपडी बनाएर वसन्तकोकिल झैं कता-कताबाट तीनतारे सारङ्गी बोकेर झुलुक्क देखा पर्ने गाइनेको ‘रानीवनैमा’ सुन्न चाहन्छु । विदेशले कति घिच्याएको छ हामीलाई; हामी अरुको नक्कल मातृभाषाका शब्द तोडफोड गरी ककनो झोक्कामा रवाफ देखाउन चाहन्छौं, यद्यपि हामीलाई प्रकृतिले यस्तो संगीत-सरल मुख र नासिका दिएको छ, जो अरुको दोषी रवाफले कहिल्यै नक्कल गर्न सक्तैन, अंग्रेजीका लवज र टोनमै केही यस्तो छ, जो हृदयमा खिरखिराउँछ, जो तारमा मिल्दैन तर किरिङमिरिङ गर्दछ, अप्राकृतिक नक्कलीपनमा रवाफ राख्दन खोज्नाका प्रवृत्तिले हामी अरु स्कूले ठिटाको ‘कम्ती छु’ भन्ने भाव पोषण गर्दछौं भन्ने स्पष्ट देखिन्छ । कोही हिन्दी भन्दछन्, कोही बङ्गाली; म भन्दछु, नीला पहाडहरुको प्राकृतिक भाषा, झर्नाहरु घुसेका मीठा लबज, हिमालयको झल्का पसेका शब्द, अमरवल्लरीहरु ढल्केका बाइमात्रा, चराचुरुङ्गीसँग उड्ने र बोल्ने अक्षरहरु । मेरो भाषा ज्यादा नफैलेको होस्, तर मेरो इन्द्राणीको झर्ना यही हो ।

सानो, मीठो, शान्त, सुगन्धी, अनुपम- बस ! मेरा निमित्त त्यही हो नेपाल ! यहाँ वाग्नर कोदाली खनिरहेछन्; शेक्सपियर हलो जोत्ता हुन्; टिसियन र टर्नर भेडा चराउँदा हुन्, सोक्रेटिज गुफामा घोत्लिरहेका होलान्, कालिदास आषाढको पन्ध्रमा धाराप्रवाह गीत गाइरहेका होलान्, मकहाँ साण्डोले दाउराका भारी बोकेर ल्याउँछन्, मेरो वनमा हेलेन केलरहरु गीत गाउँदछन्, यहाँ कति सावित्रीहरु छन्, जसका कथा संसारले सुनेकै छैन, यहाँ कति साहित्य छ, जो लेखिएकै छैन, न लेखिनेछ । नालाहरुका प्राकृतिक वेद बुझ्ने आजकल कति हृदय होलान् ! यहाँका सूर्योदयका सुनौला दृश्य कान्तिपुरीमा के जान्ने छैनन् ? के साना चराहरु हृदयाकाशमा अमर वेलीकुञ्ज बोल्दैनन् ? के गुलाबको छातीमा टप्केका रजनीघनीभूत मोतीदाने शीतलव जस्ता प्रेमका कणहरु जो मभित्र खँदिलो भइरहेछन्, के ती साना छन् ?

सच्चा आर्यभावना जसलाई भनिन्छ, त्यस्ता मानवभावनाहरु उत्पादन गर्न सक्ने र हरहमेशा हृदयमा देवसंस्कार जागरण गर्ने वाग्मती तुहिनतरल निर्मल शिशुतरंगहरुको मनोहर कलकले पवित्र शैशवास्थाको शान्त तरल भाव-प्रवाहमा खेलाएर राख्ने भूमि यदि संसारमा कुनै छ भने नेपाल छ । किनकि यहाँ कारखानाको धूवाँले दूषित वायुमण्डलमा सभ्य माकुराको जालो जस्ता तरंगहरु खेल्न पाउँदैनन् । यहाँ प्रशस्त शैशव नवीन खोज र त्यसको जादू नेपाली हृदय नेपाली आबहवाको र खानपिनका असरले गर्दा सच्चा आर्यभावहरुको स्पन्दन र आर्यसपनाले सजीव छ र अरु देशमा मैले कहिले पनि भावुक नैर्मल्य र सरलता पाउन सकिनँ । यहाँका मनुष्य मनुष्यलाई मनुष्यको दृष्टिले हेर्दछन्; सभ्यमानी देशहरुमा मनुष्य मनुष्यलाई हिंस्रक जन्तुको दृष्टिले हिंस्रक जन्तुलाई हेरे झैं हेर्दछ । जो नेपाली होइन र नक्कलपन चाहन्छ, उसलाई सरलता राम्रो लाग्दैन, पहाडका शिशुहरु सन्तोष अनुभव गर्दछन्, मैदानका ताता मगजहरु खालि असन्तोषमा उम्लिरहेछन् । जहाँ नेपाली नजर देवता देख्तछ, उहाँ अरुको नजर ढुङ्गो देख्तछ; प्रकृतिमा ईश्वरलीला देखेर स्वदेशी हृदय गद्गदाउँछ, त्यहाँ विदेशी खालि विज्ञानको अँध्यारो भुलभुलैयाभित्र पस्तछ । यहाँ ईश्वरका झल्काझल्की जताततै छरिएका छन् !

प्रतिक्रिया दिनुहोस