एउटै दृष्टि, भिन्न कोण

रोल्पाबाट प्रधानमन्त्रीलाई विरोधपत्र पेश

रोल्पा २०७७ पुष २४ गते शुक्रवार

संसद विघटन विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रोल्पाले प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई विरोधपत्र पेश गरेको छ । नेपाल कम्यूनिष्ट पार्टी (प्रचण्ड–माधव)को केन्द्रीय कार्यक्रमअनुसार देशभरबाट प्रधानमन्त्रीलाई विरोधपत्र पेश गरिएको नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीले जानकारी दिए ।

विरोधपत्रका बारेमा बोल्दै नेकपा रोल्पाका इन्चार्ज तथा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी र प्रतिगामी कदमका विरुद्ध निरन्तर संघर्ष गरिने उद्घोष गरे । ‘हाम्रा विरोधका कार्यक्रमहरु देशभर चलिरहेका छन्’ पुनले थपे, ‘प्रधामन्त्रीले गल्ती नसच्याए विरोधका कार्यक्रम थप सशक्त बन्नेछ ।’

त्यस्तै विरोधपत्रबारे जानकारी दिँदै नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापाघर्तीले गत ५ पौष मा संविधानको ठाडो उलंघन गरी जनप्रतिनिधिहरुको संस्था संसद विघटन गरिएकोप्रति आपत्ति जनाए। प्रधानमन्त्रीलाई सम्बोधन गरिएको विरोधपत्रमा ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको ऐतिहासिक, राजनैतिक परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न, वर्तमान असंवैधानिक कदम तथा सबै प्रकारको प्रतिगामी षड्यन्त्रलाई असफल पार्न र त्यसको लागि जस्तोसुकै संघर्ष गर्न नेपाली जनता सक्षम भएको भन्दै उक्त कदम सच्याउन चेतावनी दिइएको छ ।

विरोधपत्रमा भनिएको छ, ‘हामी अझै पनि तपाइँ (प्रधानमन्त्री)लाई आफ्नो असंवैधानिक कदमका निम्ति पश्चातापका साथ राष्ट्रका सामु क्षमायाचना गर्न र प्रतिनिधिसभा सूचारु गरी संविधानलाई क्रियाशील बनाउने पक्षमा आउन अनुरोध गर्दछौं, र सच्चिन अवसर प्रदान गर्दछौं ।’ शुक्रबार विरोधपत्र पेश गर्न नेकपा कार्यकर्ता नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए । विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले सक्दो छिटो प्रधानमन्त्री कहाँ बुझाउने जानकारी दिए।

स्रोत-अनलाइन साझा

प्रतिक्रिया दिनुहोस