एउटै दृष्टि, भिन्न कोण

प्रचण्डको सुरक्षाकालागि पूर्व जनमूक्ति सेना खटिए

काठमाडौ २०७७ फाल्गुन ६ गते बिहिवार

सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र शसस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । पूर्वलडाकुहरुको टोली नेकपा बिभाजनलगत्तैदेखि प्रचण्डको सुरक्षामा थियो । सरकारले अहिले सुरक्षा दस्ता फिर्ता गरेपछि यो टोली सार्वजनिक भएको हो ।

दाहालको सुरक्षामा प्रकाशचन्द पाण्डेको नेतृत्वमा पूर्वलडाकुको विशेष टोली खटिएको हो । पाण्डे स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकु हुन् । सशस्त्र द्वन्द्वकालमा उनी बटालियन कमान्डरसम्म भएका थिए । यसरी खटिएका पूर्वलडाकुको ड्रेस कोड पनि तोक्ने तयारी रहेको स्रोतको भनाइ छ ।

दीपशिखाका अनुसार प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेना नेपालका बटालियन कमाण्डर प्रकाश पाण्डे (प्रलोक) को नेतृत्वमा १० जनाको टोली खटाइएको छ । टोलीका सबै सदस्यहरु युवा संघमा आबद्ध छन् । उनीहरुले प्रचण्डको सुरक्षाको अगुवाइ गर्दै आएका छन् । देशभर भएका विरोध प्रदर्शनमा पनि पाण्डे नेतृत्वको टोलीले नै सुरक्षा प्रवन्ध मिलाउँदै आएको थियो ।

यसअघि नेपाल प्रहरीबाट डीएसपीको कमान्डमा २६ र सशस्त्रबाट इन्स्पेक्टरको कमान्डमा ४७ जना गरी ७३ सुरक्षाकर्मी दाहालको सुरक्षामा खटिएका थिए । हालै मन्त्रिपरिषद् बैठकबाट पारित पूर्व तथा बहालावला पदाधिकारीको सुरक्षासम्बन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षामा सशस्त्रका १६ र प्रहरीका २ जना मात्रै खटाउने उल्लेख गरिएसँगैं दाहालको अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायबाट ५५ सुरक्षाकर्मी फिर्ता भएका थिए ।

पूर्वलडाकुसमेत रहेका दाहाल नेपाल समूहका नेता युवराज दुलालले सुरक्षाकर्मी कटौती भएसँगैं आवश्यक मात्रामा पूर्वलडाकुको टोली अगुवा एस्कर्टिङ र कार्यक्रमस्थल व्यवस्थापनअन्तर्गत खटिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस