एउटै दृष्टि, भिन्न कोण

फेरियो रोल्पाकी दिपाको जीवन: कृषि गरेरै छोरी नर्स, छोरो ईन्जिनियर बनाईन

रोल्पा २०७७ चैत्र १८ गते बुधवार

मेहनत गर्न थाले पछि सुनिलस्मृती गाउँपालिका ६ गजुल आमडाडाकी ४१ वर्षीया दिपा वलीको जीवनस्तर फेरिएको छ।

एउटा छोरी नर्सिङ सकाएर माथिल्लो अध्ययनका लागि अष्ट्रेलिया छिन् भने एउटा छोरो ईन्जिनियरको अन्तिम वर्षको पढाई गर्दैछन्। कान्छो छोरो १३ वर्षमै एसईईको तयारीमा छन्। सामान्य परिवारिक दिपालाई २०७१ सालमा लघुबित्तले दिएको सानो ऋणले अहिले लखपति बनाएको हो।

‘२०७१ सालमा नेपाल महिला सामुदायिक सेवा केन्द्रले संचालन गरेको लघुबित्तको समूहमा बसे। ३० हजार ऋण लिएर ६ वटा बाख्रा पाल्न सुरु गरे।’ दिपाले सुरुवाती दिन सम्झदै भनिन् ‘२०७१ सालमा एउटा बोका बेचेर ऋण तिरे। त्यस यता कहिल्यै पैसाको अभाव भएन। अहिले सम्म पटक(पटक गरेर १२-१५ लाख ऋण लिएर काम गरेको छु। त्यो सबै सहजै तिरे पनि।’

दिपाले कृषि कर्मसंगै त्यहाँबाट आएको पैसाले छोरा छोरीको शिक्षामा लगानी गरेको बताउँछिन्। ‘लघुबित्तबाट सिक्षा ऋण, घरेलु ऋण ल्याएर छोराछोरी पढाए। कुनै दिन श्रीमानसंग पैसाका लागि हात थाप्न परेन।’ उनले लघुबित्तको आर्थिक सहयोगमा बाख्रा मात्र पालिनन्। ‘पोहरतिर ४ सय लोकल कुखुरा पाले। ति बढेर करिब ६ सय पुगे। एक किस्ता त मैले कागती बेचेर पनि तिरे।’

उनको करेसामा अम्बा, कागती, साग, फलफूल र तरकारी हिजो आज पनि पर्याप्त छन्। दिपाले २८ वटा बोका बाख्रा हेर्न एकजनालाई रोजगारी दिएर राखेकी छिन्। ‘लघुबित्तमा जोडिएपछि मेरो जीवनस्तर नै फेरिएको छ। उति बेला ९२०७१ सालमा० १० जनाको समूह बनाएर ३० हजार ऋण पाउँदा ३० लाख पाए जस्तो भएको थियो।’ उनी भन्छिन् ‘छोराछोरीको शिक्षालाई हेर्ने हो भने अहिले सम्म करोडौ कमाए। छोरीलाई मात्रै ६० लाख गति खर्च गरेको छु।’

कक्षा ५ सम्म घर छेउको स्कुलमा पढेकी दिपालाई पढाईको महत्वले केही गर्ने हौसला दिएको हो। बुवा ईन्डियन लाहुरे भएका कारण प्राबिको शिक्षा भारतको जम्मुमा पढेकी दिपाले त्यसपछि ब्यवहारिक शिक्षा मात्रै लिने अवसर पाइन्। घर मै सानो मिल ल्याएर जोडेकी उनलाई कुटानीपिसानीको चिन्ता पनि छैन। ‘आफ्नो जीवनसंग सन्तोष छु। सन्तानले आफूले जस्तै दुःख नपाउन भनेर मेहनत गरेको हुँ।’

नेपाल महिला सामुदायिक लघुबित्त बित्तिय संस्थाका संस्थापक तथा हाल जालपा सामुदायिक लघुबित्तका सिईओ बिमला योगीको हौसलाले केही गर्ने आट पलाएको बताउने दिपा आफूले मेहनत गर्ने हो भने फल खोज्न टाढा जानु नपर्ने बताउँछिन्। ‘अहिले त जालपा सामुदायिक लघुबित्त भयो उतिबेलाको महिला सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडले बाख्रा पालनका लागि अनुदानमा उन्नत जातको बोका पनि दिएको थियो।’ उनका अनुसार गतिलो ठाउँमा खुट्टा टेक्न सकियो र सल्लाह साथ भयो भने आर्थिकस्तर सुधार्न खासै कठिन हुँदैन रैछ।ु

दिपाका अनुसार पहिले सुन चाँदी धितो राखेर महंगो ब्याजमा साहुसंग लिएको ऋणले राम्रो भन्दा नराम्रो नै गर्दथ्यो तर अहिले सहज भएको छ। पोहर साल घर छेउमा करिब १७ लाखमा जग्गा थपेकी दिपा त्यहि वर्ष रुखबाट खसेर गम्भीर घाइते भएपछि २० लाख जति खर्च भएको बताउँछिन्। ‘लघु बित्तले भुईको मान्छेलाई आकासमा पुर्‍यायो। आज आर्थिक समस्या पर्ला जस्तो लाग्दैन तर परिहाल्यो भने लघुबित्तको याद आउँछ। जतिबेला गयो भने पनि पैसाको उल्झन हुँदैन।’

बाख्रा, भैंसी पालेकी दिपालाई घर खर्चका लागि यतिखेर नुन बाहेक अरु केही किन्न पर्दैन। ‘नुन मात्र किन्ने हो। अरु त सबै घरमै उत्पादन गर्छु। मेरो मेहनतले मेरो परिवारको जीवनस्तर फेरिएको छ। म जस्तै अरु दिदीबहिनीहरु पनि निरन्तर केही न केही काममा हुनुहुन्छ।’ उनी भन्छिन् ‘मेहनत कहिल्यै खेर नजादो रैछ।’ नागरिक दैनिकमा दिनेश सुवेदीले लेखेका छन ।

प्रतिक्रिया दिनुहोस