एउटै दृष्टि, भिन्न कोण

बिकृति र अनियमितामा हुर्किएको संघियतासगै महामारी

रोल्पा २०७८ बैशाख २८ गते मङ्गलवार

देशको समय परिस्थितिलाइ छोटो समयमा कलमको मसिले फेरी एकपटक पोत्न मन लाग्यो। देशको परिस्थिति हेर्यो भने संघियता पश्चात सबै क्षेत्रमा लुटै लुट छ, कतै बिशुद्ध सेवा गर्ने सेवा क्षेत्र र निस्वार्थ भावना बोकेको ब्यक्ती भेटाउन यो संसारमा निकै मुस्किल छ। हाम्रो नेपालमा जताततै स्वार्थ कै खेल छ, भ्रष्टाचाररै भ्रष्टाचार छ, विकास छैन, सत्यता हराएको छ, झुटको खेती मौलाएको छ। यस्तो दृश्य देख्दा, सुन्दा र भोग्दा पनि अचम्म लाग्छ। आजभोलि झन यो महामारीले निकै समस्या, चुनौती, दुख, पिडा थपिएको छ, हामी सबैलाई जानकारी नै छ, दिनप्रतिदिन संक्रमितहरुको मृत्यु भएको छ, धेरै हस्पिटलहरुमा बिरामीलाई बेड र अक्सिजनको अभाव भएको देख्न र समाचार सुन्न पाइन्छ। हस्पिटलहरुमा बिरामीहरुको लाईन छ, बेडको लागि पालो पाउन बिरामीको मृत्यु कुर्नुपर्ने अवस्था छ, समस्या झन दिनप्रतिदिन बिकराल बन्दै गएको छ । यो सहरी क्षेत्रको समस्या हो जहाँ धेरै सुबिधा हुँदा हुदै पनि केहि थोरै असुविधाको कारण बिरामीले ज्यान अहिले गुमाउनु परेको छ।

अब एकपटक पहाडको बिकट कुनामा बस्ने मान्छेहरुको कुरा गरौं जहाँ धेरै दुबिधाहरु छन, सुबिधाको अभाव छ हस्पिटल लगायत अन्य विभिन्न पुर्बधारहरुको अभाव छ। बिरामीलाई सिटामोल मात्रै आवश्यक पर्‍यो भने पनि घण्टौ घण्टा पैदल हिडनु पर्छ,  उपचारको त के कुरा गरौं?  प्रभाकारी उपचारको लागी त जिल्ला बाहिर नै जानुपर्ने बाध्यता छ। गाउँमा न सडक बाटो पुगेको छ, न हस्पिटलको सुबिधा छ, कोहि कसैलाई जटिल प्रकारको बिरामी लागेमा बिरामीलाई स्वास्थ्य संस्थाको मुख देखाउन होस वा गाउको सुबिधा सम्पन्न अस्पताल सम्म पुर्‍याउन मान्छेले नै बोक्नुपर्नु बाध्यता छ। हो म त्यही गाँउको नागरिक हुँ ।

सडक बाटोको लागि प्रत्येक बर्ष बजेट बिनयोजन हुन्छ खै कता जान्छ?  न बजेट बाँकी छ, न गाउँसम्म बाटो आउँछ, न जनताहरुलाई बाटोको सुबिधा भएको छ। हो मेरो गाउँकै एउटा सडक बाटोको उदाहरण बाट प्रष्ट छ।  हेर्नुहोस त ५१ लाखको बजेटले ४ किलोमिटर जति बाटो खनेको छ, बाटो खन्न भनेर ल्याएको जेसिबिले कहिले कसैको घडेरी खन्छ त कहिले समस्या देखाउदै दिनभरि विश्राम गरि बस्छ, कोहि सचेत जनताले ब्यक्तिको घडेरी किन खन्नेको भनी चालकलाई प्रश्न गर्दा समितिको निर्देशन छ भन्ने जवाफ आउछ, यसो किन गरेको भनी समितिलाई प्रश्न गर्दा चुनावी माहुल बनाएर चुनाव जित्नु छ भन्छ, जेसिबी बाटो खन्दै अघि अघि बढदै छ, २/३ दिन लगातार पानी परेर हो वा बाटोको लेभल नमिलाएर खनेर हो पछि पछि पहिरो झर्दै जान्छ छ। अझै हाम्रो गाउँसम्म सडक बाटो आउन २/३ किलोमिटर जति बाटो खन्नुपर्छ, हाम्रो गाउँसम्म बाटो आउछ्की भन्ने गाउँलेहरुको आशा फेरि मरेको छ। हो म त्यही ठाउको नागरिक हुँ।

तैपनी स्थानीय सरकारका प्रतिनिधिहरुको कडा भाषण छ, भन्छन हाम्रो सरकारले धेरै विकास गरेको छ, कोहि कसैलाई केहि दुबिधा छैन, यी कुराहरू उनीहरुको भाषणमा मात्रै सिमित छ, स्थानीयतह आएपछि जनतालाई कहाँ के सुबिधा भएको छ? जहाँ यस्तो संकटको समय छ, गाउँपालिकाका ४३ जनाको पिसिआर जाचगर्दा ४२ जनामा कोरोना पोजिटिभ देखिएको छ। कोरोनाकै कारण एकजनाको मृत्यु समेत भएको अवस्थामा छ। गाउँघरमा बिरामीको संख्या वृद्धि भएको भयौं छ, जनताहरु त्रास र जोखिम देखिन्छन। जनप्रतिनिधिको ध्यान कता तिर छ होला। दिनप्रतिदिन भारतबाट भित्रिएकाहरु घरगाउँमा आएर सबै संग घुलमिल हुदै बसेका छ्न, न त क्वारेन्टाइनमा राखेको छ न, त उपचारको लागि कुनै ब्यवस्था गर्ने तयारी गरेको छ। मान्छेहरुको भिडभाड हिडडुल पहिलेको जस्तै छ। वडा पालिका र गाउँपालिका संक्रमण गाँउ गाँउमा फैलिदा पनि मौन छ ।

गाउँघरमा मान्छेहरुमा जनचेतनाको अभाव छ। न कोहि मास्क लगाएर हिड्छ, न कसैले अन्य स्वास्थ्य सुरक्षाको पालना गरेको छ। केन्द्रिय सरकारको झन गाउँगाउँमा सिंहदरबारको नारा लगाउन तल्लिन छ। गाउँगाउँमा सिंहदरबार जनताको लागि होइन, स्थानीयतहका सिंहलाई लुटनको लागी पठाएको जस्तो छ, जनताहरुको दुबिधा जस्ताको तस्तै छ, झन भ्रष्टाचार बढेको छ। हेर्नुस त स्वास्थ्य सामाग्री खरिद गर्दा कमिसन छ, औषधि पसलेहरुको मनपरि मुल्य छ, उपभोग बस्तुहरुको मुल्य दिनप्रतिदिन वृद्धि भएर उपभोक्तलाई तनाव छ, कोरोना कहरले गर्दा धेरैलाई भोगमारी पारेको छ। धेरै युवाहरुको रोजगारी गुमेको छ, विद्यार्थीहरुको पढाई लेखाइमा समेत प्रभाव पारेको छ। देशको विकास गर्छौ भन्नेहरुको कुर्सीका लागि हानाहानमा छन ।

म एक सचेत नागरिकको हिसावले हजुरहरु सबैलाई मेरो अनुरोध छ, भिडभाड नगरौ, स्वास्थ्य मापदण्ड पालना गरौं। ज्यान जोगाउन सबै सचेत बनौं। हास्ने, नाच्ने र घुम्ने काम पछि गरेपनी हुन्छ, अहिले आफ्नो जीवन बचाउनु छ, त्यसैले ब्यक्ती ब्यक्ती बीच सामाजिक दुरि कायम गरौं, मन कसैको नदुखाउ, सबैसँग मैत्रीपूर्ण सम्बन्ध कायम गरौं, सबै आ- आफ्नो ख्याल् गरौं । के थाहा आफ्नो परिवारको लागि सारा संसार बन्छु भन्दाभन्दै कुनैदिन सरकारको लागि संक्रमित र मृत्युको एउटा तथ्यांक मात्रै नभईएला भन्न सकिन्न। अहिले कोभिड बाट बचौँ अनियमितताको काम गर्ने जन प्रतिनिधि र सरकारलाइ तह लगाउने समय टाँढा छैन।

लेखक- भुवन के सी- गंगादेब गाउँपालिका ६ रोल्पा

प्रतिक्रिया दिनुहोस