एउटै दृष्टि, भिन्न कोण

रोल्पाबाट प्रधानमन्त्री केपि ओलीलाइ मोनालिसाको पत्र

रोल्पा २०७८ बैशाख ३१ गते शुक्रवार

रोल्पाको गंगादेब गाँउपालिका वडा नं २ मा रहेका श्री गंगा माद्यामिक बिद्यालय चाैताराडाँडामा कक्षा ७ मा अध्ययनरत छात्रा माेनालिसा पुनमगर ले प्रधानमन्त्री ओलीलाइ भावुक हुदै पत्र लेखेकी छन । उनले तेस्रो पटक प्रधानमन्त्री बन्दै गरेका प्रधानमन्त्रीलाइ शिक्षा क्षेत्रमा ध्यान एकरुपता आउने अपेक्षा सहित पत्र लेखेकी हुन । उनको पत्र जस्ताको तस्तै

मिति :- २०७८/०१/३१

श्री सम्मानिय प्रधानमन्त्री के.पी.शर्मा वली ज्यू,

नमस्कार !

३ पटक प्रधानमन्त्री बन्न सफल हुन भएकोमा हृदयदेखि नै अनगिन्ती बधाई ज्ञापन गर्दछु ।

 यता म पत्र लेख्दाको मिति सम्म आरामै छु हजुर पनि त्यता आरामै रहेको खवरले म एकदमै खुशी छु।हजुरका विगतका कार्यकालमा के कति राम्रा,नराम्रा कामहरू भए ति सबै कामहरूको अभिलेख रहे होलान यसबारे म केहि बोल्न चाहेन। अवको कार्यकाल अलि शुखद एवं फरक रहोस भनि सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। यतिवेला विश्वमा महामारीको रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)बाट नेपाल पनि अछुतो रहन सकेन नेपालमा पनि महामारी रूपमा सबै गाउँ बस्तिहरूमा संक्रमण तिव्र गतिमा फैलिरहेको छ । यो महामारीबाट बच्न सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेको देखिन्छ। सरकारको यस कार्यलाई सबै निजी क्षेत्र, गैर सरकारी संघ संस्था तथा आम नेपाली जन्ता सबैले साथ सहयोग गर्दै अगाडी बढिररेको अवस्था छ। म यस कार्य प्रति सबैलाई धन्यवाद प्रकट गर्दै यस महामारीमा आफ्नो जिवनलाई अरूको सेवामा समर्पण गरि भोकभोकै दिन रात खटि अरूको सेवामा समर्पित रहनु भएका चिकित्सक तथ स्वास्थ्यकर्मिलाई विशेष धन्यवाद प्रकट गर्दछु । सम्पुर्ण नेपाली आमा,वुवा दाजुभाई तथा दिदी बहिनीहरूमा यस महामारी बाट बच्न सरकारले तोकेका स्वास्थ्य मापदण्डका नियमहरू पालना गरि घर भित्रै बस्न आग्रह गर्दछु । यदि केहि अति आवश्यक कामले बाहिर निस्कनु परेमा मास्कको प्रयोग गरि घरभित्र प्रवेश गर्नु अघि सेनिटाईजर तथा सावुन पानीले राम्रो संग हात खुट्टा धुनु होला ।

  कोरोना संक्रमणबाट ज्यान गुमाउनुहुने सबैमा हार्दिक श्रध्दाञ्जलि व्यक्त गर्दै कोरोनासंक्रमणबाट बिरामी हुनुभएका सबैमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।म एक विध्यार्थी भएकाले अरू विषयमा भन्दा शिक्षाकै विषयमा केहि कुरा बोल्न मन लागेकाले यस फेसवुक वाल मार्फत केहि शव्दहरू लेख्दै छु ।  
नेपालमा पनि कोरोना महामारी तिव्र रूपमा फैलिरहेको अवस्थामा हाम्रो रोल्पा जिल्लाको गंगादेव गाउँपालिकामा पनि कोरोना भाईरस संक्रमण बढेकाले चैत्र महिनाको दोस्रो साता पछि सबै शैक्षिक संस्थाहरू पुर्णरूमा बन्द नै छन यतिवेला रोल्पामात्र नभई नेपालका सबै शैक्षिक संस्थाहरू बन्द नै छन। एक दिन यो महामारीबाट छुटकारा अवश्य पाउने छौ । म अन्य धेरै भुमिका नबाँधि ठोस कुरामा आउन चाहान्छु ।पुनः शैक्षिक संस्थाहरू खुल्ने छन म जस्ता लाखौ बालबालिकाहरू विध्यालय जानेछन । भरपुर आशावादी रहि सम्माननीय प्रधानमन्त्री ज्यू लाई अनुरोध एवं अपेक्षा सहित मेरा कहि प्रश्न राख्ने अनुमति लिए।

( १ ).हामी सबै नेपाली बराबर हैनौ र ? यदि नेपाली सबै बराबर हौ भने अहिले सम्म किन ?

  • हिमाल,पहाड,तराईका बालबालिकाले पढने विध्यालयको शिक्षाको गुणस्तरमा फरक किन छ?
  • धनि र गरिबका छोराछोरीले पढने विध्यालयको शिक्षाको गुणस्तरमा फरक किन छ?
  • शिक्षा बालबालिकाको नैसर्गिक अधिकार हो भने शिक्षाको गुणस्तरमा असमान्ता किन छ?
  • म जस्ता ग्रामिण क्षेत्रका गरिबका छोराछोरीले गुणस्तरिय शिक्षा भएको विध्यालयम पढन कहिले पाउछौ ?
  • शिक्षा क्षेत्रमा भैरहेको विभेदिकरण र व्यवसायीकरणको अनत्य कहिले हुन्छ ?
    माथि उल्लेखित मेरा प्रश्नहरूको उत्तर कहिले सम्म आउछ ? हजुरबाट मैले यि प्रश्नहरूको उत्तर पाउने आशा राखेर नै हजुर लाई यो खुल्ला पत्र लेख्ने जमर्को गरेकि छु ।

उहि तपाई कि नातिनी सरह रोल्पाली आज्ञाकारी छोरी कक्षा – ७ अध्यनरत

मोनालिसा पुन मगर

श्रीगंगा माध्यमिक विध्यालय गंगादव- २, चौताराडाँडा , जिनावाङ रोल्पा

प्रतिक्रिया दिनुहोस