एउटै दृष्टि, भिन्न कोण

दाङमा गाउँपालिका अध्यक्ष चढ्ने सवारी दुर्घटनाको बिषयमा गलत प्रचार भएको भन्दै गाउँपालिका द्वारा खण्डन

दाङ २०७८ जेष्ठ २१ गते शुक्रवार


बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वली चढ्ने सवारी दुर्घटना भएको छ ।गाउँपालिका द्वारा संचालित कोभिड विशेष अस्पतालका लागि स्वास्थ्य सुरक्षा सामग्री लिन घोराही तर्फ जाँदैगर्दा घोराही–मुर्कुटी सकड खण्डमा पर्ने घोराही उपमहानगरपालिका वडा नम्बर ४ पालुथानमा लु १ झ ६१६ नम्वरको महिन्द्रा बलेरो डवल क्याप गाडी दुर्घटना भएको हो ।
आज बिहान करिव ८ बजे दुर्घटना भएको गाडी चालक स्वयंले चलाएको र दुर्घटनामा परेका सबैजना सकुसल रहेको बंगलाचुली गाउँपालिकाले जानकारी दिएको छ ।निर्माणाधिन अवस्थामा रहेको मदनभण्डारी लोक मार्ग(घोराही-मुर्कुटी सडक खण्ड) मा पहिलो चरणको कालोपत्रेका लागि हालिएको गिट्टिमा गाडीको गति तिब्र रहेको हुँदा गाडी अनियन्त्रित भई दुर्घटना भएको बंगलाचुली गाउँपालिकाले प्रष्ट पारेको छ ।
यसैविच गाउँपालिका अध्यक्ष चढ्ने गाडी दुर्घटनाको विषयमा विषयान्तर गरेर समाचार प्रकाशन भएको भन्दै बंगलाचुली गाउँपालिकाले गम्भिर ध्यानआकर्षण भएको जानाएको छ ।गाउँपालिकाले आज शुक्रबार विज्ञप्ती जारी गर्दै केही अनलाईन संचार माध्यमहरुमा आएको समाचार निराधार रहेको बताएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद आचार्यले विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष चढ्ने गाडी गाउँपालिकाको सवारी चालकलेनै चलाएको प्रष्ट पार्नु भएको छ ।साथै विज्ञप्ति मार्फत दुर्घटना जस्तो दु:खद सम्वेदनशिल विषयलाई विषयान्तर नगरी दुर्घटनाकै रुपमा वुझिदिन सम्पुर्ण संचारमाध्यम,तथा सरोकारवाला सबैलाई अनुरोध गरीएको छ ।
यस्तै दुर्घटनाको विषयलाई लिएर केही सञ्चार माध्यममा अनावश्यक भ्रम पैदागरी गरी राजनीतिक प्रहार गर्न खोजिएको भन्दै गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले खेद व्यक्त गर्नु भएको छ । अध्यक्ष वलीले दुर्घटना आफैमा दु:खद घटना हुँदा हुँदै कतिपयले दुर्घटनाकै विषयलाई लिएर राजनीति गर्न खोजेको भन्दै खेत व्यक्त गर्नु भएको हो । उहाँले दुर्घटना अकल्पनिय र पिडादायी हुँने हुँदा यसमा राजनीति नगर्न समेत सबैलाई अपिल गर्नुभएको छ ।
दुर्घटनाको विषयलाई लिएर आस्था विचारको भरमा प्रहार गरिएकोले सत्यतथ्य समाचार सम्प्रेषण गर्न समेत सञ्चारकर्मी तथा सञ्चार गृहलाई अनुरोध गर्नु भएको छ । सवारी चालकले नै सवारी चलाएकोले घटनाको सत्यतथ्य नबुझी समाचार प्रकाशन/प्रशारण गरेर जनता माझ अनावश्यक भ्रम नफैलाउन पत्रकारहरुलाई समेत अपिल गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस